जुन प्रतिष्ठानमा उत्पादित कोरोना खोप नेपालले आज भारतबाट प्राप्त गरेको छ त्यही प्रतिष्ठानमा भीषण आगलागी भएको छ । कोभिशिल्ड नामक कोरोनाको खोप उत्पादन गरिरहेको प्रतिष्ठानमा आगो लागेको हो ।
कोभिड खोप उत्पादन गरिरहेको भारतको पुनेस्थित सेरम इन्स्टिच्युटमा भीषण आगलागी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन ।
तर यस घटनाले कोभिशिल्ड खोप उत्पादनको काममा असर पुग्ने सम्भावना नभएको बताइएको छ ।
उक्त इन्स्टिच्युटले बेलायतको अक्सफोर्ड विश्वविदयालय र बेलायती स्वीडीस औषधि कम्पनी अष्ट्राजेनेकासँग मिलेर खोप उत्पादन गरिरहेको छ । बिहीबार निर्माण कार्यको क्रममा आगलागी सुरु भएको बताइएको छ ।
भारतीय मिडियाका अनुसार अहिले आगलागी नियन्त्रणमा लिन दमकल सहित ठूलो संख्यामा अग्नी नियन्त्रकहरु खटिएका छन् ।
भारतको उक्त इन्स्टिच्युट विश्वकै सबैभन्दा ठूलो खोप उत्पादकको रुपमा चिनिएको छ ।
जुन इन्स्टिच्युट पुनेस्थित एक सय एकड जमिनमा फैलिएको छ । आगलागी भएको मन्जरी कम्प्लेक्स खोप उत्पादन स्थलबाट केही मिनेटको दूरीमा पर्ने बताइएको छ ।