रास्वपा सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबिच टेलिफोन वार्ता, बाढीपीडितलाई सहयोग गर्ने अमेरिकी प्रतिबद्धता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबिच टेलिफोन वार्ता भएको छ। अमेरिकी विदेशमन्त्री रुबियोले सभापति लामिछानेसँग टेलिफोन सम्पर्क गरी रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको ठुलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गर्नुभएको हो।

वार्ताका क्रममा विदेशमन्त्री रुबियोले प्राकृतिक विपद्को यस कठिन घडीमा नेपाली जनता र नेपाल सरकारप्रति अमेरिकी सरकारका तर्फबाट पूर्ण ऐक्यबद्धता जनाउनुभयो। जवाफमा सभापति लामिछानेले बाढी प्रभावित क्षेत्रमा तीव्र रूपमा खोजी, उद्धार तथा राहत कार्य सञ्चालन गर्न सम्पूर्ण उपलब्ध राज्य संयन्त्र र स्रोतसाधन परिचालन भइरहेको जानकारी गराउनुभयो। साथै, प्रभावित क्षेत्रमा रहेका विदेशी नागरिकसहित सम्पूर्ण नागरिकहरूको सुरक्षाका लागि सरकार पूर्ण रूपमा संवेदनशील र प्रतिबद्ध रहेको उहाँले आश्वस्त पार्नुभयो।

सभापति लामिछानेले नेपालको विपद् व्यवस्थापनमा अमेरिकी सरकारले देखाएको सद्भाव, तत्परता र निरन्तर सहयोगप्रति आभार व्यक्त गर्नुभयो। कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले बाढीपछिको पुनर्निर्माण, उद्धार र मानवीय सहायताका लागि नेपाललाई आवश्यक पर्ने थप सहयोग उपलब्ध गराउन अमेरिका सधैँ तयार रहेको प्रतिबद्धता दोहोर्‍याउनुभयो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा