आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा मंगलबार विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको आकलन गरिएको छ ।

महाशाखाका अनुसार मंगलबार दिउँसो पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा हुनुका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि पानी पर्नेछ । यस्तै, मधेश, कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा वर्षाको सम्भावना छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।

यस्तै रातिको समयमा पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना कायमै रहनेछ । कोशी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेका संवेदनशील क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा