काठमाडौँ । पछिल्लो समय सुस्ताएको सेयर बजारलाई पुनर्जीवन दिन र लगानीकर्ताको मनोबल उकास्न अर्थ मन्त्रालयले २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना’ सार्वजनिक गरेको छ । सेयर बजारमा देखिएको मन्दी अन्त्य गर्न नीतिगत तथा संरचनागत सुधारलाई प्राथमिकता दिँदै मन्त्रालयले यो विस्तृत कार्ययोजना अघि सारेको हो । कार्ययोजनामा धितोपत्रको प्राथमिक निष्कासन (आईपीओ) प्रक्रियालाई थप बजारमुखी बनाउने, मूल्य अन्वेषण (बुक बिल्डिङ) प्रणालीलाई प्रभावकारी लागू गर्ने तथा म्युचुअल फन्ड र कर्पोरेट बन्ड बजारलाई आधुनिक र पारदर्शी बनाउने व्यवस्था गरिएको छ ।
कार्ययोजना अनुसार पुँजी बजारको दायरा फराकिलो बनाउन गैरआवासीय नेपाली (एनआरएन) लाई सेयर बजारमा विधिवत् प्रवेश गराउने प्रक्रियालाई तीव्रता दिइनेछ । यसका लागि विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाहरूमा आवश्यक संशोधन गरिने जनाइएको छ । यसका साथै, नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संस्थागत र प्रविधिगत पुनर्संरचना गर्ने, ब्रोकरहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने, मार्जिन ट्रेडिङ र सेयर ‘बाइ ब्याक’ सम्बन्धी व्यवस्थालाई व्यवहारिक रूपमा कार्यान्वयनमा ल्याउने विषयलाई कार्ययोजनामा समेटिएको छ ।
त्यसैगरी जोखिम व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा बैंक तथा वित्तीय संस्थाको सेयर लगानी सीमा र जोखिम भारमा समयानुकूल पुनरवलोकन गर्ने योजना तय गरिएको छ । दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्न कर प्रणाली र लाभांश गणना विधिमा सुधार गरिने उल्लेख गर्दै अर्थ मन्त्रालयले तोकिएकै समयसीमाभित्र कार्ययोजना कार्यान्वयन गर्न मातहतका नियामक निकायहरूलाई कडा निर्देशन दिएको छ । यस कदमले पुँजी बजारलाई थप प्रतिस्पर्धी, सुरक्षित र पारदर्शी बनाई आमलगानीकर्ताको विश्वास पुनर्स्थापित गर्ने अपेक्षा गरिएको छ ।




