काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा बिहीबार विभिन्न प्रदेशका हिमाली तथा पहाडी भू-भागहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको आकलन गरिएको छ ।
महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनेछ । तराई भू-भागका थोरै स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भिरालो जमिनमा सावधानी अपनाउन अनुरोध गरिएको छ ।
यसैगरी रातिको समयमा पनि देशभर साधारणतया बदली रहनेछ । राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ । भारी तथा मध्यम वर्षाका कारण नदीहरूमा जलसतह बढ्न सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।





