काठमाडौँ । उत्तरपूर्वी अफ्रिकी मुलुक सुडानको एक परम्परागत सुनखानी भत्किँदा कम्तीमा ६० जना खानी मजदुरको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पश्चिम कोर्डोफान प्रान्तको एल-नाहुद सहर नजिकै अवस्थित अल-जारा सुनखानी अचानक भत्किएपछि ठूलो मानवीय क्षति भएको हो । दुर्घटनास्थलबाट हालसम्म ६० जना मजदुरको शव निकालिएको छ भने भग्नावशेषमा अझै धेरै मजदुरहरू पुरिएको आशंका गरिएको छ ।
रातभर सञ्चालन गरिएको उद्धार अभियानका क्रममा केही मजदुरहरूलाई जीवितै उद्धार गरिएको भए पनि खानीभित्र फसेकाहरूको अवस्था अझै अज्ञात छ । स्थानीय उद्धारकर्मी तथा प्रत्यक्षदर्शीहरूका अनुसार आधुनिक उपकरणको अभावमा उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ । सन् २०२३ को अप्रिल महिनादेखि सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बिच जारी गृहयुद्धका कारण त्यहाँको अर्थतन्त्र र कानुनी नियमन तहसनहस भएको छ, जसले गर्दा असुरक्षित रूपमा सञ्चालित खानीहरूमा मजदुरहरू जोखिमपूर्ण काम गर्न बाध्य छन् ।
युद्धका कारण सुडानको औपचारिक अर्थतन्त्र ध्वस्त भएपछि दुवै विद्रोही तथा सैन्य समूहहरूले सुन तस्करी र अनौपचारिक खानीहरूबाट आर्थिक स्रोत जुटाउँदै आएका छन् । यसैबिच सुडान हाल विश्वकै सबैभन्दा ठूलो भोकमरी र मानवीय विस्थापनको संकटबाट गुज्रिरहेको छ । देशका करिब दुई करोडभन्दा बढी नागरिक चरम खाद्य संकटको चपेटामा परिरहेका बेला भएको यस दुःखद खानी दुर्घटनाले पीडित परिवार तथा स्थानीय समुदायमा थप शोक र त्रास छाएको छ ।





