काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको उच्चस्तरीय वार्ताका क्रममा ताइवानको विषयलाई अत्यन्त सावधानीपूर्वक सम्हाल्न र ‘ताइवान स्वतन्त्रता’ को स्पष्ट विरोध गर्न अमेरिकालाई आग्रह गरेका छन् ।
ह्वाइट हाउसमा सम्पन्न वार्तामा राष्ट्रपति सीले चीन र अमेरिकाबीचको सम्बन्धलाई स्थिर बनाउन सहयोगलाई प्राथमिकता दिनुपर्ने र प्रतिस्पर्धालाई उचित सीमाभित्र राख्नुपर्नेमा जोड दिएका छन् । उनले कृत्रिम बौद्धिकता (एआई) को क्षेत्रमा दुवै देशको बलियो क्षमता रहेको उल्लेख गर्दै यसको दुरुपयोग रोक्न र मानवकेन्द्रित विकासका लागि संयुक्त प्रयास आवश्यक रहेको बताए । यसका साथै, दुवै नेताले आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने र विवादका विषयहरूलाई संवादमार्फत व्यवस्थापन गर्ने सहमति जनाएका छन् ।
वार्ताको नतिजास्वरूप दुवै पक्षले व्यापार सम्झौता सुधारका लागि निरन्तर संवाद गर्ने र एआईको जोखिम तथा फाइदाबारे सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, मध्यपूर्व, युक्रेन सङ्कट र कोरियाली प्रायद्वीपको पछिल्लो अवस्थाबारे छलफल गर्दै सन् २०२६ मा आयोजना हुने एपेक र जी–२० शिखर सम्मेलनमा एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ । छ महिनाभन्दा कम अवधिमा भएको यो दोस्रो भेटले विश्वका दुई ठूला अर्थतन्त्रबीचको रणनीतिक सम्बन्धलाई थप स्पष्ट पार्ने प्रयास गरेको छ ।





