सूर्य कसैलाई नदिएर अर्को चिह्न दिनुस् भन्दै देउवाले गरे निर्वाचन आयोगलाई आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले अहिलेसम्म चुनावी कार्यतालिका सार्वजनिक नगर्दा आशंका उत्पन्न भएको बताएका छन् ।

भैरहवामा भएको विरोधसभामा सभापति देउवाले संसद विघटन भएको ६ महिनाभित्र चुनाव गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको भएपनि निर्वाचन आयोगले अहिलेसम्म चुनावी कार्यतालिका बाहिर नल्याउँदा शंका उत्पन्न भएको बताएका हुन् ।

‘निर्वाचन आयोगले चुनावको प्रक्रिया नै शुरु गरेको छैन । निर्वाचन आयोगले चुनावको कार्यक्रम किन बाहिर निकाल्दैन । कुनै पनि संसद विघटन भएको ६ महिनाभित्र चुनाव गरिछाड्नुपर्छ । कमसे कम जेठ अन्तिमतिर त चुनाव गराउनै पर्छ । निर्वाचन आयोग संविधानभन्दा बाहिर जान सक्छ,’ कार्यक्रममा बोल्दै देउवाले भने, ‘निर्वाचन आयोगलाई यहीँबाट भन्न चाहन्छु । प्रधानमन्त्री ओलीले संसद विघटन गरेका ६ महिनाभित्र चुनाव गराउनै पर्छ । बैशाखसम्म चुनाव गराउँछु भनेको छ तर आयोगले किन अहिलेसम्म किन कार्यतालिका सार्वजनिक गरेको छैन ?’

उनले अदालतमा विचाराधीन रहेको संसद पुर्नस्थापनाको विषयमा सडकमा आन्दोलन नगर्ने दोहोर्‍याए ।

उनले भने, ‘जनताभन्दा ठुलो अदालत संसारमा अरु केहीपनि छैन । हामीले भन्ने एउटा कुरा अदालतमा विचारधीन मुद्दामा यस्तो गर उस्तो गर भन्न मिल्दैन । जुलुस निकालेर अदालतलाई यसो गर उसो गर भन्न मिल्दैन । अदालतमा विचाराधीन मुद्धामा किनारा नलाग्ने बेलासम्म पर्खिऊँ न । स्वतन्त्र न्यायपालिका मान्ने पार्टी भएकाले निष्पक्ष न्याय दिन्छ भन्ने विश्वास हामीलाई छ ।’

नेकपाको दुई समूहका बीचमा निर्वाचन चिह्नका बारेमा विवाद भइरहेको भए पनि निर्वाचन आयोगले त्यसमा पनि निर्णय गर्नुपर्ने बताए । उनले भने,‘ओलीले पाउने भए उनलाई दिए भइहाल्यो हैन भने प्रचण्डलाई दिए भयो । निर्णय त गर्नपर्‍यो नि ।’ सभापति देउवाले सूर्य चिह्न कसैलाई नदिएर अर्को चिह्न दिए पनि हुने बताए ।

‘कसलाई सूर्य चिह्न दिने भनेर अहिलेसम्म निर्णय गर्न नसक्ने ? सबैभन्दा बेस त अरु चिह्न दिए भइहाल्यो नि । सूर्य एउटै छ, दुईटा पार्टीलाई एउटा चिह्न कसरी दिने ?,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा