आक्रमणका घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्ता रहेको ओलीको आरोप

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक कार्यक्रममा सहभागी हुने क्रममा केही दिन पहिले झापामा भएको आक्रमणका घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्ता रहेको आरोप लगाएका छन् । पूर्वदरबारियाहरूले मान्छे पठाएर आफ्नो विरोध गर्न लगाएको ओलीको भनाइ छ ।

अखिल नेपाल किसान महासंघले आइतबार आयोजना गरेको कार्यक्रममा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार मूकदर्शक बनेको पनि गुनासो गरेका छन् ।

पूर्वी नेपालका विभिन्न जिल्लामा आफूमाथिको आक्रमण प्रयासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको जिकीर गर्दै त्यस्ता उदण्ड, अराजनीतिक खालको गतिविधिलाई नियन्त्रण गर्नुको साटो सत्तारुढ दलकै कार्यकर्ताहरूले ढुंगामुढा गरेको पनि ओलीले बताए ।

‘हामीले तेह्रथुम, पाँचथर, इलाम, झापा अनेक ठाउँमा कार्यक्रम गरेका थियौं । तपाईंहरूले अलिअलि सुन्नु पनि भएको होला । कार्यक्रममा जाँदै गर्दाखरी बीचमा केही गुण्डा प्रवृत्तिका व्यक्तिहरू, अराजनीतिक व्यक्तिहरूले हमला गर्ने, पहिचानको राजनीति भनेर अराजनीतिक क्रियाकलाप गर्ने, त्यस्ता खालको क्रियाकलाप गर्ने, ढुंगामुढा गर्ने, त्यस्ता खालको कुराहरू गरे । यसको संलग्नता विभिन्नतिर देखिएको छ,’ उनले भने, ‘ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता देखिएको छ । यो अनेकमार्फत् देखिएको छ । यहाँभित्र उनीहरूले भित्रभित्र खेलाउने, जसलाई मैले ‘छौंडा’ भन्ने गरेको छु । यो पूर्वदरबारीयाहरूले छौंडा खेलाएर पनि अलिकति यस्तो खालको काम गरेका छन् ।’

त्यस्ता गतिविधि रोक्नमा सरकार असफल भएको पनि ओलीको भनाइ थियो । कार्यक्रममा सहभागी हुन जाने क्रममा निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, काँही ढुंगा हान्ने, काँही भिडन्त गर्न आउने काम हुँदा पनि सरकारले ती गतिविधि नियन्त्रण नगरेको ओलीको भनाइ थियो । ‘सत्तामा हुने पार्टीका कार्यकर्ता अर्काको नाममा ढुंगा हान्न त्यहाँ गएका छन् । हाम्राविरुद्ध अश्लील, असभ्य, त्यस्ता खालका गालीगलौज गर्ने कुराहरू यिनका मुखबाट भएको छ । त्यो म आफैंले देखेर, भोगेर आएको छु । हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, काँही ढुंगा हान्ने, काहीं भिडन्त गर्न आउने । त्यसप्रकार उनीहरूले अनेक ठाउँमा आक्रमण गरे । त्यो खालको उदण्डता र सरकार मुकदर्शक ?,’ उनले भने, ‘यो गठबन्धन सरकारको पनि यस्ता असामाजिक क्रियाकलापहरू गर्ने, गराउने कुरामा चाहिँ जेसुकै भने पनि, मुखले जेसुकै भनेपनि तिनलाई नियन्त्रण गर्ने, त्यो २० जना केटा छैनन् त्यहाँ । त्यो २० जना, २५ जना केटाहरू च्यापच्याप समाउन सकिँदैन ? त्यही मान्छे झापामा ढुंगा हान्छ । त्यही मान्छे इलाममा गएर उफ्रिन्छ । त्यही मान्छे फिदिम गएर उफ्रिन्छ । त्यही मान्छे तेह्रथुम गएर उफ्रिन्छ । त्यही मान्छे फर्किएर आएर फिदिममा उफ्रिन्छ फेरि ।’

अध्यक्ष ओलीले राजतन्त्र मान्नेहरूको पनि कडा आलोचना गरेका छन् । उनले स्वार्थी तत्वहरूले राजतन्त्रको नारा लगाइरहेको भन्दै आपत्ति जनाएका हुन् । ‘राजतन्त्र भनेको कि फटाहाले मान्छ । स्वार्थी फटाहाले । कि मुर्खले मान्छ । राजतन्त्र मान्ने दुई खालको मान्छे हुन्छन । कोही कोही अज्ञानीमा पनि मान्छन । तीन खालकै भनौं । एकथरी अज्ञानी हुन्छन । विचरा केही पनि बुझ्दैनन् । त्यसकारण मान्छन् राजतन्त्र । अर्कोथरी स्वार्थ, साधना गर्नका लागि मान्छन् । दलालहरुले मान्छन् । बुद्धि नभएकाहरुले मान्छन,’ उनले भने, ‘जन्मिदैखेरी यस्तो हुनुपर्छ भनेर । अब स्वार्थी तत्वहरू र बिकाउ मालहरुले मान्छन् । तिनलाई केही पनि छैन । अलिकति थोरैमा एक दिनका लागि, एक छिनका लागि, एक हप्ताका लागि, १० दिनका लागि जतिका लागि पनि किन्न सक्छ मान्छेले । अपराध कर्मका लागि । त्यस्ता तत्वहरुले मान्छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा