स्वास्थ्य बीमाको १० वर्ष: एक तिहाइ जनसङ्ख्या समेटिए, सेवालाई थप प्रभावकारी बनाउन सरकारको प्रतिबद्धता

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले देशको स्वास्थ्य सेवालाई थप व्यवस्थित र जनमुखी बनाउन सरकार पूर्ण रूपमा क्रियाशील रहेको बताउनुभएको छ। स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनको एक दशक पुगेको अवसरमा स्वास्थ्य बीमा बोर्डले बुधबार राजधानीमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै मन्त्री साहले बीमा कार्यक्रममार्फत आम नागरिकलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डिल्लीराम शर्माले स्वास्थ्य बीमा कार्यक्रमका सन्दर्भमा सेवाग्राही र सेवा प्रदायक दुवै पक्षबाट केही गुनासाहरू आइरहेको स्वीकार गर्दै ती समस्या समाधान गर्न मन्त्रालय गम्भीर रहेको बताउनुभयो। “बीमा कार्यान्वयनमा देखिएका व्यावहारिक र कानुनी जटिलताहरूलाई सम्बोधन गरेर मात्रै यसको उद्देश्य पूरा गर्न सकिन्छ,” उहाँले भन्नुभयो।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले आगामी दिनमा सामाजिक स्वास्थ्य सुरक्षाका सबै कार्यक्रमहरूलाई एकद्वार प्रणालीबाट कार्यान्वयन गरिने जानकारी दिनुभयो। उहाँले संस्थागत सुधार, प्रविधिको अधिकतम प्रयोग र अस्पतालहरूको दाबी रकम समयमै फछ्र्यौट (दाबी फरफारक) गर्न बोर्डको क्षमता अभिवृद्धिमा जोड दिइएको बताउनुभयो।

विगत १० वर्षको तथ्याङ्क अनुसार हालसम्म देशको करिब एक तिहाइ जनसङ्ख्या स्वास्थ्य बीमाको दायरामा आएको छ। बोर्डका अनुसार प्रिमियम तिर्नेमध्ये करिब ९३ प्रतिशतले उपचार सेवा लिइसकेका छन्। हाल प्रतिपरिवार पाँच जना सदस्यका लागि वार्षिक ३ हजार ५ सय रुपैयाँ योगदान रकम बुझाउँदा १ लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था छ। बालेन्द्र शाह नेतृत्वको सरकारले यस कार्यक्रमलाई थप विस्तार गर्दै पूर्ण डिजिटल प्रणालीमा लैजाने लक्ष्य राखेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा