काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले पछिल्लो समय सामाजिक सञ्जालमार्फत जथाभावी चिकित्सा परामर्श दिने र औषधि सिफारिस गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता गतिविधिमा संलग्न चिकित्सकलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। काउन्सिलले एक विशेष सार्वजनिक सूचना जारी गर्दै बिरामीको प्रत्यक्ष स्वास्थ्य परीक्षण नगरी डिजिटल माध्यमबाट औषधि सुझाउने र बिरामीको गोपनीयता भंग गर्ने कार्यलाई तत्काल रोक्न निर्देशन दिएको हो।
काउन्सिलका रजिस्ट्रार डा. सतिस कुमार देवद्वारा जारी सूचनामा टिकटक, इन्स्टाग्राम र फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत बिना परीक्षण औषधि सिफारिस गर्नुलाई गैरजिम्मेवार र अवैज्ञानिक कार्यका रूपमा व्याख्या गरिएको छ। यसरी हचुवाको भरमा दिइने परामर्शले बिरामीको स्वास्थ्यमा सुधार हुनुको सट्टा उल्टै गम्भीर जोखिम निम्त्याउने काउन्सिलको भनाइ छ।
चिकित्सा क्षेत्रलाई मर्यादित र संवेदनशील बनाउन काउन्सिलले चिकित्सकहरूलाई अनिवार्य रूपमा पेशागत आचारसंहिता पालना गर्न आग्रह गरेको छ। बिरामीसँग सम्बन्धित कुनै पनि भिडियो वा सामग्री सामाजिक सञ्जालमा राख्दा बिरामीको अनुहार र पहिचान पूर्ण रूपमा गोप्य राख्नुपर्ने स्पष्ट व्यवस्था गरिएको छ। बिरामीको अनुमति बिना वा उसको पहिचान खुल्ने गरी सामग्री प्रसारण गर्नु आचारसंहिता विपरीत हुने काउन्सिलले जनाएको छ।
यसैगरी, सामाजिक सञ्जालमा स्वास्थ्यसम्बन्धी जानकारी वा जनचेतना फैलाउँदा समेत वैज्ञानिक आधार र प्रमाणित तथ्यहरूलाई मात्र प्रयोग गर्न भनिएको छ। प्रचलित मेडिकल मापदण्ड बाहिर गएर दिइने सल्लाहले समाजमा गलत सन्देश जाने भएकाले यसमा सचेत रहन चिकित्सकहरूलाई सूचित गरिएको छ।
काउन्सिलले आफ्ना यी निर्देशनहरू पालना नगर्ने चिकित्सकहरूलाई नेपाल मेडिकल काउन्सिल ऐन तथा प्रचलित कानुनी व्यवस्था अनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ। जनस्वास्थ्यमा खेलबाड गर्ने र पेशागत मर्यादा विपरीत कार्य गर्नेलाई कानुनी दायरामा ल्याएर कारबाही प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ।






