सिरहा । सिरहाको लहान नगरपालिका–१० मा निर्माणाधीन १५ शय्याको लहान नगर अस्पतालको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ तीव्र गतिमा अघि बढाएको उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माण करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ। नगरपालिका र निर्माण व्यवसायी मल्टिटेक कन्स्ट्रक्सन एन्ड सप्लायर्सबीच भएको सम्झौताअनुसार आगामी असार १५ गतेभित्रै भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ।
हाल लहानमा प्रादेशिक अस्पताल सञ्चालनमा रहे पनि त्यहाँ सिरहा, सप्तरी र उदयपुरसम्मका बिरामीको अत्यधिक चाप हुँदा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ। अब मूल्य अभिवृद्धि कर (भ्याट) सहित कुल १२ करोड ५२ लाख ११ हजार रुपैयाँको लागतमा यो नयाँ सुविधा सम्पन्न नगर अस्पताल बनेपछि प्रादेशिक अस्पतालको चाप निकै घट्ने विश्वास लिइएको छ। नगरप्रमुख महेशप्रसाद चौधरीले यस अस्पताललाई आफ्नो कार्यकालको गौरवको आयोजनाका रूपमा लिएको बताउँदै यो विशेष गरी आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित गरिब र विपन्नका लागि वरदान साबित हुने उल्लेख गरे। उनका अनुसार यो अस्पतालमा मुख्य रूपमा प्रसूति (मातृशिशु) तथा बाल रोगसम्बन्धी विशिष्टीकृत सेवा उपलब्ध गराइनेछ।
अस्पताल भवनको प्राविधिक तथा भौतिक संरचना निकै सुविधा सम्पन्न र वैज्ञानिक ढङ्गले डिजाइन गरिएको छ। निर्माण कम्पनीका प्रबन्धक महेशकुमार देवका अनुसार अस्पतालको पहिलो तलामा प्रशासनिक, आकस्मिक (इमर्जेन्सी) र ओपिडी सेवासहित ४० वटा कोठा रहनेछन् भने दोस्रो तलामा जनरल वार्ड, प्रसूति गृह र अपरेसन थिएटरसहित ६२ वटा कोठा रहनेछन्। हाल लहान नगरपालिकाको कुल जनसङ्ख्या १ लाख १० हजारभन्दा बढी छ। नगरले भवन हस्तान्तरण लगत्तै अस्पतालको आन्तरिक व्यवस्थापन र जनशक्ति मिलाएर द्रुत गतिमा सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ।





