काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्नो कार्यप्रवाहलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन संगठनात्मक पुनर्संरचनाको गृहकार्य अघि बढाएको छ। मन्त्रालयको दैनिक प्रशासनिक काम र निर्णय प्रक्रियालाई छरितो बनाउने उद्देश्यले यो कदम चालिएको हो।
नयाँ योजनाअन्तर्गत मन्त्रालयले हाल कायम रहेका ५ वटा महाशाखालाई परिमार्जन गरी कार्यप्रकृतिका आधारमा ३ वटा मात्र कायम गर्ने लक्ष्य राखेको छ। साथै, कार्यप्रकृतिका आधारमा मिल्दाजुल्दा विभागहरूलाई एकापसमा गाभेर एकीकृत गर्ने तयारी समेत मन्त्रालयले गरेको छ।
स्वास्थ्य क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्न र डिजिटल प्रणालीको विकास गर्न मन्त्रालयले एउटा नयाँ ‘सूचना प्रविधि विभाग’ समेत स्थापना गर्ने भएको छ। यो नयाँ विभागले देशभरिको स्वास्थ्य तथ्याङ्क व्यवस्थापन गर्न र प्रविधिमैत्री सेवा प्रवाहमा महत्त्वपूर्ण सघाउ पुर्याउने अपेक्षा गरिएको छ।
यस पुनर्संरचनामार्फत लामो समयदेखि मन्त्रालयस्तरमा अनावश्यक रूपमा केन्द्रित रहेका र कार्यसम्पादनमा दोहोरोपन देखिएका करिब ३० प्रतिशत दरबन्दीहरूलाई सम्बोधन गरिनेछ। केन्द्रका ती दरबन्दीहरूलाई तल्लो तहका संरचनाहरूमा समायोजन गर्दा प्रशासनिक सञ्चालन खर्चमा उल्लेख्य कटौती हुने र स्थानीय स्तरको सेवा प्रवाह थप मजबुत बन्ने मन्त्रालयको विश्वास छ।





