काठमाडौँ । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र त्यसपश्चात् प्रशासन कार्यालयमा भएको दुर्व्यवहारको विरोधमा आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू ठप्प पारिएका छन्। नेपाल चिकित्सक संघले एक औपचारिक विज्ञप्ति जारी गर्दै सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको हो।
गत साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणबाट टाउकोमा गम्भीर चोट लागेको घटनाप्रति संघले गम्भीर आपत्ति जनाएको छ। दोषीहरूलाई कानुनको दायरामा ल्याउन माग गर्दै पर्सा प्रशासन कार्यालयमा छलफल चलिरहेको समयमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट बल प्रयोग गरी चिकित्सकहरूमाथि गालीगलौज तथा दुर्व्यवहार गरिएको आरोप लगाइएको छ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कानुनअनुसार दोषीमाथि कडा कारबाही र जिम्मेवार अधिकारीहरूको बदसलुकीविरुद्ध राज्यले गम्भीरता नदेखाएका कारण बाध्य भएर सांकेतिक रूपमा सेवा बन्द गर्नुपरेको संघले जनाएको छ। यस आकस्मिक आन्दोलनका कारण सेवा लिन पुग्ने बिरामीहरूमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहँदै संघले यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने स्पष्ट पारेको छ।




