काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज (शुक्रबार) दिउँसो आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।
नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम राष्ट्रपतिले शाहलाई बहुमत प्राप्त दलको नेताका रूपमा प्रधानमन्त्रीमा नियुक्त गर्नुहुनेछ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले कुल १८२ सिटसहित स्पष्ट बहुमत प्राप्त गरेपछि शाहको नेतृत्वमा एकल सरकार गठन हुन लागेको हो। बिहीबार मात्रै रास्वपाको संसदीय दलको बैठकले शाहलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिसकेको छ।
राष्ट्रपति कार्यालयका अनुसार अपराह्न १:३० बजे शपथ ग्रहणको साइत जुरेको छ। समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, नागरिक समाजका अगुवा र उच्च सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिसकिएको छ। प्रधानमन्त्रीको शपथसँगै सानो आकारको मन्त्रिमण्डलले पनि आजै शपथ लिने बुझिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र नं ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी सानदार जित निकाल्नुभएको थियो। हिजो मात्रै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शाहसहित अन्य नवनिर्वाचित सांसदहरूलाई सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो। ३५ वर्षीय शाह नेपालको इतिहासमै सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने रेकर्ड समेत राख्दै हुनुहुन्छ।





