अमेरिकी राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्प प्रशासनका केही महत्वपूर्ण नीतिलाई उल्ट्याएर काम सुरु गरेका हुन् । शपथ ग्रहण गरेको केही घण्टापछि नै बाइडेनले १५ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर कामको थालनी गरेका हुन् ।
गम्भीर चुनौतिहरु रहेकाले खेर फाल्ने समय नरहेको राष्ट्रपति बाइडेनले बताएका छन् । उनले शपथपछिको सम्बोधनमा आफू सबै अमेरिकीका लागि काम गर्ने र सबैको राष्ट्रपति बन्ने बताए । उनले फरक मतहरुलाई राखेर एकअर्कालाई सुन्ने तथा मिलेर काम गर्नु पर्ने बताए । राष्ट्रपति बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राष्ट्रिय प्रयासलाई लिएर कार्यकारी आदेश जारी गरेका हुन् ।
यस्तै विश्व स्वास्थ्य संगठनमा अमेरिकालाई पुनः फर्काउने, पेरिस जलवायु सम्झौतामा पुनः सामेल हुने, आप्रवासी नीति सम्बन्धी कार्यकारी आदेशमा बाइडेनले पहिलो दिनमा हस्ताक्षर गरेका छन् ।
मुस्लिम देशमाथि ट्रम्प प्रशासनले लगाएको यात्रा प्रतिबन्ध हटाउने, मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माण भइरहेको पर्खाल निर्माण रोक्नेसहितका आदेशमा बाइडेनले हस्ताक्षर गरेका हुन् । उनले ती मुलुकहरूमा रहेका अमेरिकी दूतावासका अधिकारीलाई अप्ठेरोमा परेका र सहयोगको खाँचो भएका मानिसहरूको भिसा प्रक्रिया अघि बढाउन भनेका छन्।
ट्रम्पले यसअघि पेरिस क्लाइमेट सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेका थिए। विश्वव्यापी जलवायू परिवर्तनका विषयमा काम गर्ने उक्त सम्झौतामा अमेरिका फेरि जोडिने बाइडेनले निर्णय गरेका छन्। अबको ३० दिनमा अमेरिका सम्झौताको एक हस्ताक्षरकर्ता हुनेछ।
राष्ट्रपति बाइडेनले अमेरिका र मेक्सिकोको सीमामा ट्रम्पले लगाउन थालेको पर्खालको काम पनि रोकिदिएका छन्। उनले पर्खाल बनाउन गइरहेको पैसा रोकेर त्यसको समीक्षा गर्ने बताएका छन्। ट्रम्पले ल्याटिन अमेरिका हुँदै आउने आप्रवासी रोक्न मेक्सिकोको सीमामा पर्खाल लगाउने चुनावी नारा दिएका थिए। राष्ट्रपति बनेपछि उनले पर्खालका लागि अर्बौं डलर जुटाउन राष्ट्रिय आपतकाल घोषणा गरेका थिए।
जनगणनामा नागरिकता नभएका मानिसलाई सहभागी नगराउने ट्रम्प प्रशासनको योजना पनि बाइडेनले उल्टाएका छन्। अवैधानिक आप्रवासीलाई खोजी खोजी देश निकाला गर्ने ट्रम्पको निर्णय पनि उनले खारेज गरिदिएका छन्।बाइडेनले देशभरि मास्क अनिवार्य रूपले लगाउनु पर्ने अर्डरमा पनि हस्ताक्षर गरेका छन्।