काठमाडौँ । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार अविरल वर्षाका कारण बिहीबार राति फलबाङ गाउँमा पहिरोले घर पुरिँदा घरधनी वीरबहादुर घर्तीमगर, उनकी श्रीमती शनी घर्तीमगर र उक्त घरमा बास बस्न आएकी छिमेकी लली घर्तीमगर बेपत्ता भएका हुन्।
प्रहरीले स्थानीयको सहयोगमा पहिरो हटाउने तथा खोजी तथा उद्धार कार्य जारी राखेको छ।
यसैगरी, सुनछहरी गाउँपालिका–२ गिट्ठे गाउँमा समेत लादे बुढामगरको घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ। घटनास्थलतर्फ थप प्रहरी टोली परिचालन गरिएको छ।




