काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसदहरूले धारणा राख्दा मर्यादित भाषा र उचित व्यवहार प्रयोग गर्नुपर्ने भएको छ। संसदीय समितिहरूमा छलफलका क्रममा उग्र र अमर्यादित बहस हुने गरेको भन्दै आलोचना भइरहेका बेला समितिकी सभापति समीक्षा बास्कोटाले बैठकमा बोल्दा भाषा र शैलीमा संवेदनशीलता अपनाउन रुलिङ गरेकी हुन्।
समितिको पछिल्ला बैठकहरूमा सांसदहरूले आमन्त्रित व्यक्तिहरूमाथि तिखो टिप्पणी गर्ने र मुख्य विषयभन्दा बाहिर गएर धारणा राख्ने क्रम बढेपछि सभापति बास्कोटाले यस्तो निर्देशन दिएकी हुन्। समितिमा आमन्त्रित हुने व्यक्तिहरू विभिन्न सङ्गठन वा निकायका प्रमुखका रूपमा जिम्मेवारी सम्हालेर आएका हुने र संसदीय बहसलाई आम नागरिकले प्रत्यक्ष रूपमा हेरिरहेकाले संयमित तथा संवेदनशील भएर विषय उठाउन उनले आग्रह गरिन्।
यसैबिच, समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन–२०८३ उपर दफावार छलफल र सुझाव सङ्कलन कार्य अघि बढाइएको छ। साथै, बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण उपसमितिले पेस गरेको प्रतिवेदनलाई पारित गर्ने कार्यसूचीसमेत तय गरिएको छ।




