काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजले दिएको १३० रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले १६ ओभर ४ बलमा ५ विकेटको क्षतिमा सहजै लक्ष्य पूरा गर्यो।
सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमलेनले विस्फोटक ब्याटिङ प्रदर्शन गरे। उनले मात्र २१ बलको सामना गर्दै २ छक्का र ६ चौकाको मद्दतमा सर्वाधिक ४३ रनको आक्रामक इनिङ्स खेले। यस्तै, इशान पाण्डेले २९ बलमा २ चौका प्रहार गर्दै महत्त्वपूर्ण २५ रनको योगदान दिए। बलिङतर्फ चितवनका रन्जित कुमारले ३ विकेट हात पारे भने रिजन ढकालले १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। चितवनका लागि रवि बोपाराले ४० बलमा २ छक्का र ३ चौकासहित सर्वाधिक ४९ रन बनाए पनि टोलीलाई ठूलो योगफलतर्फ डोर्याउन सकेनन्। यसैगरी डेविड मलानले १७ बलमा १६ रन, अर्जुन साउदले १७ बलमा १५ रन र कप्तान सिकन्दर राजाले २० बलमा १५ रन जोडे।
सुदूरपश्चिमका बलरहरूले कसिलो बलिङ गर्दै चितवनका ब्याट्सम्यानहरूलाई खुलेर खेल्न दिएनन्। स्कट कुगेलिइनले २ विकेट लिए भने हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान १–१ विकेट हात पारे।
यस जितसँगै सुदूरपश्चिम रोयल्स ४ खेलबाट ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने पराजित चितवन राइनोज पाँचौँ स्थानमा झरेको छ। यसअघि सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई हराएको थियो।





