आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको हुँदा गर्दै जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले तीब्रताका साथ आवश्यक तयारी अगाडि बढाएको छ ।
सरकारले वैशाखमा निर्वाचन तोकेपछि तयारी अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख जिल्ला निर्वाचन अधिकारी गुरु प्रसाद मरासिनीले जानकारी दिनुभयो ।
कार्यालयले माघ १५ देखि २१ गते मतदाता नामावली अद्यावधिक, दाबीविरोध, त्रुटि सच्याउने र दाबी गरी विरोध गरेर हटाउने, दोहोरो नाम हटाउने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउनका लागि उजुरी दिन सकिने कार्यतालिका सार्वजनिक गरिएको मरासिनीले बताउनुभयो ।
आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मतदानमा सहज, सरल तथा निर्वाचनमैत्री बनाउन स्थानीय तहबाट आएका सर्वसम्मतिको सुझावलाई ग्रहण गरी सोहीअनुसारको मतदान केन्द्र वा मतदानस्थल तोक्ने भएको छ ।
निर्वाचन कार्यालय स्याङ्जाले जिल्लाका एघारवटै पालिकामा सहायक नामदर्ता अधिकारी तोकि सबैलाई माघ ९ गते तालीम समेत दिई सकिकेको छ भने दोहोरो मतदाताको नाम भएमा सहायक नामदर्ता अधिकारी स्वयंले जाँचबुझ गरी नाम हटाउने सम्बन्धमा निर्णय गर्ने, सहायक नामदर्ता अधिकारीले मतदाता नामावली अद्यावधिक कार्यक्रममा प्रयोग भएका सबै कागजात तथा सामग्री प्रमुख नामदर्ता अधिकारीको कार्यालयमा बुझाउनुपर्ने जिल्ला निर्वाचन अधिकारी मरासनीले जानकारी दिनुभयो ।
निर्वाचन कार्यालयका अनुसार अर्जुन चौपारी गाउँपालिकामा १३, आधिँखोला गाउँपालिकामा १५, कालीगण्डकी गाउँपालिकामा १५, गल्याङ् नगरपालिकामा २१, चापाकोट नगरपालिकामा १७, पुतलबजार नगरपालिकामा २९, फेदीखोला गाउँपालिकामा १०, भीरकोट नगरपालिकामा १९, वीरुवा गाउँपालिकामा १५, हरिनास गाउँपालिकामा १२ र वालिङ नगरपालिकामा ३३ गरी जिल्लाका पाँच वटा नगरपालिका र छ वटा गाउँपालिका गरी एघार पालिकाका ९७ वडामा १९९ मतदान केन्द्र रहेको जनाएको छ ।
फागुन २ गतेदेखि ७ गतेभित्र मतदाताको नामावाली आइपुग्ने जिल्ला निर्वाचन कार्यालयले बताएको छ ।
निर्वाचन कार्यालयमा १० दल दर्ता भए पनि हालसम्म छ दलमात्रै सक्रिय देखिएका छन् । विसं २०७४ को निर्वाचनमा १० पार्टी दर्ता भए पनि हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राप्रमा नेपाल, जनता समाजवादी, राप्रपा नेपाल र मजदूर किसान पार्टी सक्रिय रहेका छन् ।