तेहरान । इरानले संयुक्त राष्ट्रसंघको महासभा अधिवेशनमा सहभागी हुनु आफ्नो ‘कानुनी अधिकार’ भएको स्पष्ट पारेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले राज्य सञ्चालित टेलिभिजनसँगको अन्तर्वार्तामा न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) मा इरानको सहभागिता कुनै मुलुकले प्रदान गर्ने सुविधा वा अनुग्रह नभएको बताएका छन् । उनले इरान संयुक्त राष्ट्रसंघका ५० संस्थापक सदस्य राष्ट्रहरूमध्ये एक रहेकाले महासभामा सहभागी हुने पूर्ण कानुनी हैसियत राख्ने प्रष्ट पारे ।
प्रवक्ता बघाईले इरानी प्रतिनिधिमण्डललाई महासभामा सहभागी हुनबाट रोक्न विभिन्न अवरोध र नकारात्मक प्रचारबाजी भइरहेको आरोप लगाए । न्यूयोर्कमा उपस्थित हुनु इरानी प्रतिनिधिका लागि कुनै व्यक्तिगत आकर्षणको विषय नभई आफ्नो देश र जनताको अडान अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने महत्त्वपूर्ण मञ्च भएको उनको भनाइ छ । उनले कुनै पनि किसिमको दबाब वा अवरोधले इरानलाई महासभामा आफ्नो धारणा राख्ने अधिकारबाट विमुख गराउन नसक्ने दृढता व्यक्त गरे ।
यसैबीच, संयुक्त राष्ट्रसंघको आयोजक राष्ट्रका रूपमा अमेरिकाले इरानको मुख्य प्रतिनिधिमण्डललाई यूएनजीएमा सहभागी हुन आवश्यक भिसा जारी गर्ने निर्णय गरेको छ । अमेरिकी विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघको मुख्यालय सम्झौताअनुसार आफ्नो दायित्व पूरा गर्न भिसा प्रदान गरिएको जनाएको छ । यद्यपि यस वर्ष न्यूयोर्क जाने इरानी प्रतिनिधिमण्डलको आकार विगतका वर्षहरूको तुलनामा केही सानो हुने अमेरिकी अधिकारीहरूले उल्लेख गरेका छन् ।





