कोरोनाको केन्द्रविन्दु बन्यो बाँकेको नरैनापुर गाउँपालिका, एक जनाको निधन, ५६ सङ्क्रमित

एक जना सङ्क्रमितको ज्यान गएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको केन्द्रविन्दु बन्न पुगेको छ । आज फेला परेका ४७ जनासहित नरैनापुरमा मात्रै सङ्क्रमित ५६ पुगेका छन् । यसअघि नै नरैनापुरमा एकजनाको ज्यान जानेगरी नौ जनामा सङ्क्रमण देखिएको थियो । यससँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या आजसम्म ८१ पुगेको छ ।यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ मा २४ र वडा नं ७ मा एक जना गरी २५ जनामा सङ्क्रमण देखिएको थियो । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुरमा आज सङ्क्रमित देखिएका अधिकांश नागरिक भारतबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएका रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । आइतबार मात्रै नरैनापुर ५ का एक २५ वर्षीय युवकको कोरोनाबाटै निधन भएको थियो ।

श्रेष्ठका अनुसार आज सङ्क्रमण फेला परेका सबै यसअघि भेटिएका आठ सङ्क्रमितको सम्पर्कमा आएका व्यक्ति हुन् । आठ सङ्क्रमितको सम्पर्कमा आएका आधारमा दुई दिनअघि शनिबार नरैनापुरका विभिन्न वडामा रहेका क्वारेन्टिनबाट सङ्कलन गरिएको स्वाब नेपालगञ्जस्थित भेरी अस्पतालको आरटिपिसिआर यन्त्रमा परीक्षण गर्दा ४७ जनामा रिपोर्ट पोजेटिभ आएको हो ।
नरैनापुर २ को आदर्श मावि, लक्ष्मणपुरबाट ८७, वडा नं. ५ को दीपेन्द्र प्रावि, भोजभगवानपुरबाट ३९, वडा नं ५ कै नेराप्रावि, हुलासपुरबाट ७२ र वडा नं ६ को जयकिसन मावि, भगवानपुरबाट ६५ जना गरी २६३ जनाको स्वाब सङ्कलन गरिएको थियो । आइतबार थप ११ जनाको स्वाब सङ्कलन गरिएको श्रेष्ठले बताउनुभयो ।
नरैनापुरबाट सङ्कलित २७४ मध्ये अझै केही स्वाबको परीक्षण बाँकी रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताउनुभयो । “पूरै स्वाबको रिपोर्ट आइसकेको होईन, म बाहिर फिल्डमै भएकोले एक्जाक्ट मलाई पनि थाहा भएन”, उहाँले भन्नुभयो, “सङ्क्रमितलाई व्यवस्थापनको लागि छलफल भइरहेको छ ।
”एकैपटक ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएपछि नरैनापुरमै आइसोलेशन वार्ड तयार गर्ने कि अन्यत्र व्यवस्थापन गर्ने भन्नेबारेमा छलफल भइरहेको उहाँको भनाइ छ । यसअघि सङ्क्रमित २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा राखिएको छ भने आठ जनालाई दाङ पठाइएको छ ।

२३ सङ्क्रमितको पुनः स्वाब सङ्कलन

नेपालगञ्जमा फेला परेका २३ सङ्क्रमितको आज पुनः स्वाब सङ्कलन गरिएको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा तयार गरिएको कोरोना विशेष अस्पतालमा उपचाररत २५ मध्ये समयावधि पुगेका २३ सङ्क्रमितको कोरोना परीक्षणका लागि पुनः स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगञ्जका पहिलो सङ्क्रमितसहित २३ जनाको स्वाब सङ्कलन गरिएको छ । पछिल्लो पटक सङ्क्रमण भेटिएका दुई पुरुषको समयावधि पुगेपछि पुन परीक्षण गरिने बताउनुभयो । पहिलो सङ्क्रमितको आजसहित तेस्रो पटक स्वाब सङ्कलन गरिएको हो । साठी वर्षीय पहिलो सङ्क्रमितको यसअघि गत हप्ता गरिएको पुनः परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको थियो ।

शोकमा डुब्यो नरैनापुर ःउच्च सुरक्षा सतर्कता

क्वारेन्टाइनमै रहेको अवस्थामा एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर क्षेत्रमा शोकमा ढुबेको छ । सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिण पूर्वराप्तीपारी अवस्थित सो नगरपालिका वडा नं ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवाको आइतबार बिहान निधन भएको थियो । शोकमग्न रहेको अवस्थामा स्थानीय मृतकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि गाउँमा सङ्क्रमण फैलिएको हुनसक्ने आशङ्कामा त्रसित समेत हुन पुगेको स्थानीय अगुवा सोहनलाल यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्वारेन्टाइनमा स्वास्थ्य र व्यवस्थापनको पक्ष फितलो रहेको गुनासोसमेत आएको छ ।

सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले अचानक भएको अकल्पनीय निधनले सिङ्गो गाउँपालिका शोकमा ढुबेको बताउनुभयो । “कोरोना सङ्क्रमितको सङ्ख्या थपिने आशङ्काले पनि स्थानीयवासी त्रसित भएको देखिएको छ, त्रसितभन्दा पनि संयमित हुन जरुरी छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले क्वारेन्टाइनलाई थप व्यवस्थित गर्दै स्वास्थ्यकर्मी र एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।”

भारतको महाराष्ट्र मुम्बइबाट गत वैशाख ३० गते बाँके आएलगत्तै सो गाउँपालिका वडा नं ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टाइनमा बस्दै आएका युवाको आइतबार बिहान दुई पटक बान्ता गरेको केही समयपछि निधनभएको जनाइएको छ ।

शनिबार नै कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिए पनि आइतबार अपराह्न आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका स्थानीय स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । रिपोर्ट नआउँदासम्म आइतबार दिनभर शव क्वारेन्टाइनमै राखिएको थियो ।

कोरोना सङ्क्रमणबाट निधनभएको पुष्टि भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय बासिन्दा र परिवारको सहमतिमा निधनभएको स्थानदेखि करिब तीन किलोमिटरको दूरीमा रहेको शवदहन क्षेत्रमा धार्मिक संस्कारअनुसार दाहसंस्कार गर्ने निर्णय गरिएको थियो । स्थानीय र परिवारका व्यक्ति शोक र त्रासका कारण अन्त्येष्टिमा सहभागी हुन सकेनन् ।

बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले शवलाई परिवारका सदस्यभन्दा टाढै रोहवरमा राखेर धार्मिक परम्पराअनुसार नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा अन्त्येष्टि गरिएको जानकारी दिनुभयो ।

उहाँले नरैनापुर क्षेत्रलाई चारैतिरबाट आवतजावत बन्द गरी सङ्क्रमण न्यूनीकरणका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको जानकारी दिनुभयो । मृतक युवासहित भारतबाट नेपाल प्रवेश गरेका व्यक्तिको पिसिआर परीक्षण गर्दा यसअघि यहाँका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती मध्ये तीन जना दीपेन्द्र प्राथमिक विद्यालयकै क्वारेन्टाइनमा थिए । उक्त क्वारेन्टाइनमा अहिले ३८ जनालाई राखिएको छ ।

कोरोनाबाट मृ’त्युपछि ३८ जना अस्थायी क्वारेन्टिनमा

एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर गाउँपालिका ५ स्थित दीपेन्द्र प्रावि क्वारेन्टिनमा रहेकाहरुलाई पालको अस्थायी क्वारेन्टिनमा सारिएको छ । उक्त क्वारेन्टिनमा रहेमा २५ वर्षीय युवकको आइतबार निधनभएपछि ३८ जनालाई जयकिसन माविकोे प्राङ्गणमा पालबाट अस्थायी क्वारेन्टिन बनाई सारिएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोइन खाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार युवकको निधनभएको दीपेन्द्र क्वारेन्टिनमा बस्न नमानेपछि सबैलाई जय किसान माविमा सारिएको हो । जयकिसन माविमा यसअघि नै ६० जना रहेकाले दीपेन्द्र प्राविबाट सारिएकालाई प्राङ्गणमा पालको क्वारेन्टिन बनाएर राखिएको छ । नरैनापुर ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवकको आइबार बिहान क्वारेन्टिनमा आफ्नै आँखा अगाडि निधन भएपछि त्यहाँ रहेकाहरुले आफूलाई अन्यत्र सार्नुपर्ने माग राख्दै आएका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले क्वारेन्टिनमा आइतबार अचानक भएको निधनपछि क्वारेन्टिनहरुलाई थप व्यवस्थित गर्दै स्वास्थ्यकर्मी र एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । एक अस्थायी क्वारेन्टिन थपिएसँगै नरैनापुुरका १२ क्वारेन्टिनमा अझै पनि ७५९ जनालाई राखिएको खरालको भनाइ छ । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिण पूर्व राप्तीपारि अवस्थित नरैनापुरमा एक जनाको ज्यान जानेगरी नौ जनामा कोरोना सङ्क्रमण देखिएपछि आवतजावत बन्द गरी सङ्क्रमण न्यूनीकरणका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा