झापाको विर्तामोड नगरपालिकामा आज पिकअप भ्यान (छोटा हात्ती) को ठक्करबाट चार वर्षीय बालकको निधन भएको छ । आज बिहान ८ बजे बिर्तामोड नगरपालिका–१० स्थित सैनिकमोडबाट बजारतर्फ जाँदै गरेको मे१च ५६०२ नंको पिकअप भ्यानले सोही स्थानका धिरेन राईका चार वर्षीय छोरा सुदेन राईलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते भएका राईलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो । सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको भीमदत्त नगरपालिकाको भाँसी क्षेत्रमा म२प ५२७ नंको मोटरसाइकल दुर्घटना हुँदा बेदकोट नगरपालिका–३ का मोहन चौधरीको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलका अनुसार भीमदत्तनगरदेखि बेदकोटतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो । उहाँका अनुसार मोहनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।