काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूमी फिर्ता गराईछाड्ने घोषणा गरेका छन् । उनले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि को भन्ने कुरामा कुनै विवाद नभएकाले फिर्ता गराएरै छाड्ने बताएका छन् । ओलीले संसदको बैठकमा मंगलबार जवाफ दिने क्रममा यस्तो बताएका हुन् । उनले भने, ‘अतिक्रमित लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, फिर्ता लिएरै छोड्छौं । उनले यो विषयलाई जवरजस्ती विवादित बनाइएको टिप्पणी गरेका छन् । उनले भने त्यो हाम्रो भूमि हो। त्यसलाई जबरजस्ती विवादास्पद बनाइएको छ। त्यो विवादास्पद भूमि होइन।
उनले अतिक्रमित भएका ती क्षेत्र समावेश गरेर सरकारले नयाँ नक्शा जारी गरेको जानकारी दिदैँ अब राजनीतिक र कुटनीतिक पहल गरिने पनि बताएका छन् । प्रधानमन्त्री ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको बताएका छन् । उनले सरकारले लिम्पियाधुरासहितको नक्शा देखाउनका लागि मात्र जारी नगरिएको स्पष्ट पारेका छन् ।
‘यो कुनै तमासा गरिएको होइन, देखाउनका लागि मात्र गरिएको होइन’ उनले भने ‘यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको हो ।’ उनले भने ।
प्रधानमन्त्रीले तथाकथित राष्ट्रवाद देखाउन नक्सा जारी नगरिएको पनि स्पष्टीकरण दिए । ‘तथाकथित राष्ट्रवाद बोल्ने अभ्यास र प्रचलन देखिआएको भोगिआएको समयमा त्यस्तो आकलन गर्नुपनि अनौठाने होइन’ उनले भने नयाँ नक्शाअनुसार नेपालको निशान छाप परिवर्तन गर्न संविधान संशोधनसमेत गर्नुपर्ने उनको भनाइ छ।
सन् १९६२ मा कालापानीमा भारतीय सैनिक बसेपछि त्यसभन्दा पश्चिमको नेपाली भूमिमा पुग्ने रोकिएको बताए। २०१८ सालसम्म जनगणना गर्ने, तिरो उठाउने काम भएको थियो, उनले भने, त्यसपछि त्यहाँ जान नदिने, रोक्ने काम भयो। खासगरी सन् १९६२ मा भारतीय सेना कालापानीमा बसेपछि त्यसपछि पश्चिमको भूभागमा जाना हामी ब्लक भयौं। हामीलाई ब्लक गरियो।