काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्न सुरु भएको छ ।
निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार आज र सोमबार समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यक्रम तोकिएकामा केही राजनीतिक दलले आजै सूची पेस गरेका छन् ।
उनले राजनीतिक दलले पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीबारे पुस १५ देखि २० गतेसम्म छानबिन गरिने कार्यक्रम रहेको बताए । त्यसपछि पुस २१ देखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ देखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठीक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्द सूची र माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने कार्यतालिका रहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।
यसअघि एक सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । यसरी दर्ता भएका राजनीतिक दलले मात्र सोमबारसम्म बन्द सूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउने छन् ।
सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन तोकेको छ । यसपटक एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । ती मतदाताले समानुपातिक र प्रत्यक्षको दुईवटा मतपत्रमा मतदान गर्न पाउँछन् ।
