काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालेका महावीर पुनले आफ्नो पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा पुनले मन्त्री पद त्यागेका हुन्।
पुनको राजीनामाको औपचारिक जानकारी अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन्। खनालले आफ्नो पोस्टमा पुनले आफ्नो सामाजिक अभियान र आविष्कारको कार्यलाई निरन्तरता दिन तथा आगामी निर्वाचनमा केन्द्रित हुन राजीनामा दिएको उल्लेख गरेका छन्।
लामो समयदेखि नेपालमा सूचना प्रविधि र आविष्कारको क्षेत्रमा सक्रिय रहेका पुनले मन्त्री पदबाट बाहिरिएसँगै आफ्नो गृहजिल्ला म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने तयारी गरेका छन्।
गत असोज ५ गते मन्त्री नियुक्त भएका पुनले आज (माघ ६ गते) सम्म गरी कुल ११८ दिन मन्त्रालयको नेतृत्व गरे। उनको कार्यकालमा शिक्षा क्षेत्रमा सुधार र प्रविधिको विकासका लागि केही महत्वपूर्ण नीतिगत जग बसाल्ने प्रयास भएकाे मानिन्छ।




