काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रत्यक्षतर्फको मतगणना सोमबार सङ्खुवासभाको अन्तिम परिणाम सार्वजनिक भएसँगै सम्पन्न भएको छ। १६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ सिटमा सानदार जित हासिल गर्दै नयाँ शक्तिका रूपमा इतिहास रचेको छ।
रास्वपाले मधेस र बागमतीमा लगभग ‘क्लिन स्वीप’ गर्दै क्रमशः ३० र ३१ सिट जितेको छ। उता, पुराना शक्ति मानिने नेपाली कांग्रेस १८ सिट, नेकपा एमाले ९ सिट र नेपाली कम्युनिस्ट पार्टी ८ सिटमा खुम्चिएका छन्। पहिलो पटक निर्वाचनमा होमिएको श्रम संस्कृति पार्टीले ३ सिट जितेर एमाले र माओवादीका गढहरू भत्काउन सफल भएको छ। राप्रपा र स्वतन्त्र उम्मेदवार (महावीर पुन) ले १–१ सिट जितेका छन्। २०७९ को तुलनामा कांग्रेसले ३९ र एमालेले ३४ सिट गुमाएका छन्।
समानुपातिकतर्फ पनि रास्वपाकै लहर
मंगलबार बिहानसम्म १ करोड २ लाख २८ हजार ५६७ मत गणना हुँदा रास्वपा ४९ लाख १५ हजार ४७८ मतका साथ ऐतिहासिक ५० लाखको आँकडा नजिक पुगेको छ। नेपाली कांग्रेस १६ लाख ६४ हजार ४६२ मतसहित दोस्रो र नेकपा एमाले १३ लाख ८२ हजार ९८० मतसहित तेस्रो स्थानमा छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ४७ हजार, श्रम संस्कृतिले ३ लाख ४६ हजार र राप्रपाले ३ लाख २१ हजार मत प्राप्त गरेका छन्।





