काठमाडौँ । आम निर्वाचन २०८२ बाट १८२ सिट जितेर प्रतिनिधि सभाको पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू नयाँ सरकार गठनको औपचारिक छलफलमा जुटेका छन्। बिहीबार काठमाडौँको एक होटलमा साढे ४ बजेदेखि ६ बजेसम्म चलेको बैठकमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), र उपसभापतिद्वय डीपी अर्याल एवम् डा. स्वर्णिम वाग्ले सहभागी हुनुहुन्थ्यो। निर्वाचन परिणाम सार्वजनिक भएपश्चात् सरकार गठनका विषयमा शीर्ष नेताहरू एकै ठाउँमा भेला भएको यो पहिलो पटक हो।
स्रोतका अनुसार करिब डेढ घण्टा चलेको उक्त बैठकमा चुनावी समीक्षाका साथै नयाँ सरकारको प्रारूप, मन्त्रिमण्डलको गठन, त्यसको आकार र सुशासनको मुद्दालाई सम्बोधन गर्ने ठोस खाकाबारे घनिभूत छलफल भएको छ। “हामीले मन्त्रीका आकाङ्क्षीहरूको व्यवस्थापन र पहिलो मन्त्रिपरिषद् बैठकका प्राथमिक एजेण्डाहरूबारे पनि प्रारम्भिक खाका तयार पारेका छौँ,” रास्वपाका एक उच्च नेताले बताउनुभयो। अबदेखि नियमित रूपमा शीर्ष नेताहरू बसेर सरकारको पूर्ण खाका तय गर्दै जाने सहमति भएको छ।
आजै निर्वाचन आयोगले समानुपातिकतर्फका ११० जना सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरी आम निर्वाचन २०८२ को अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको छ। प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको संवैधानिक बाटो खुला भएको छ। नेपालको संविधान २०७२ को धारा ७६ (१) अनुसार राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्नुहुनेछ। रास्वपाले २७५ सदस्यीय प्रतिनिधि सभामा १८२ सिटसहित स्पष्ट बहुमत प्राप्त गरेकाले आफ्नै नेतृत्वमा सरकार बनाउने निश्चित छ।





