काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि एमालेले आज बिहान ८:३० बजेका लागि आकस्मिक सचिवालय बैठक बोलाएको छ। पार्टी सचिव महेश बस्नेतका अनुसार बैठकले वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै देशव्यापी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने तयारी गरेको छ।
सचिव बस्नेतले सामाजिक सञ्जालमार्फत बालेन शाह नेतृत्वको सरकारले ‘राजनीतिक प्रतिशोध’ साँधेको आरोप लगाउनुभएको छ। उहाँले नवनियुक्त गृहमन्त्री सुधन गुरुङलाई ‘अनुभवहीन र अराजक’ को संज्ञा दिँदै लोकतन्त्रका लागि लडेका नेताहरूलाई गिरफ्तार गरिनुले देशमा द्वन्द्व निम्त्याउने चेतावनी दिनुभएको छ। “नेपाल विगतमा राजनीतिक बन्दी नभएको देशका रूपमा चिनिन्थ्यो, तर पछिल्ला घटनाक्रमले लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गरेको छ,” बस्नेतले उल्लेख गर्नुभएको छ।
एमालेले आफ्ना नेताहरूको गिरफ्तारीलाई ‘पूर्वाग्रहपूर्ण’ कदम भन्दै सरकारी सम्पत्तिको रक्षा गर्न नसक्ने प्रहरी प्रशासनलाई नेताहरू पक्राउ गर्न परिचालन गरिएकोमा दुःख व्यक्त गरेको छ। सचिवालय बैठकपछि एमालेले आफ्ना कार्यकर्ता र शुभचिन्तकहरूलाई सडक प्रदर्शनमा उत्रन आह्वान गर्ने बुझिएको छ।
बालेन सरकारले ‘जेनजी’ आन्दोलनको छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै ओली र लेखकलाई आज बिहानै निवासबाटै नियन्त्रणमा लिइएको थियो। यस घटनाले मुलुकको राजनीतिमा नयाँ तरंग पैदा गरेको छ भने एमालेले यसलाई लोकतन्त्र र विधिको शासन विपरितको कार्य भन्दै कडा प्रतिवाद गर्ने जनाएको छ।




