काठमाडौँ । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहको नेतृत्वमा गठित वर्तमान सरकारलाई आफ्नो पार्टीले रचनात्मक प्रतिपक्ष र जिम्मेवार साझेदारको भूमिकामा साथ दिने स्पष्ट पार्नुभएको छ। राष्ट्रियसभाको सोमबार बसेको बैठकमा बोल्दै सांसद कर्णले यो सरकार परिवर्तनप्रतिको जनआकाङ्क्षाको प्रतिरूप भएको र लोकतन्त्रमा जनमत नै सर्वोपरि हुने बताउनुभयो।
सम्बोधनका क्रममा कर्णले २००७ सालदेखि २०६२/६३ सम्मका जनआन्दोलनहरूले निर्माण गरेको बलियो लोकतान्त्रिक आधारकै कारण आज नयाँ पुस्ताले देशको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्नुभयो। गौरवपूर्ण इतिहासका साथै कांग्रेसले विगतका कतिपय कमजोरीहरू सुधार्नुपर्नेमा उहाँले जोड दिनुभयो। “संविधान र अधिकार सुनिश्चित भए पनि सुशासन, रोजगारी र समृद्धिको अनुभूति जनतासम्म पुग्न नसक्नु हाम्रो कमजोरी हो,” कर्णले भन्नुभयो, “भ्रष्टाचार नियन्त्रण र युवालाई स्वदेशमै अवसर दिन नसक्दा वैदेशिक रोजगारी बाध्यता बनेको यथार्थलाई अब बदल्नुपर्छ।”
सांसद कर्णले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा गुणस्तरीय सेवा सुनिश्चित गर्न र सामाजिक न्यायमा स्पष्ट मार्गचित्रका साथ अघि बढ्न सरकारलाई सुझाव दिनुभयो। कांग्रेससँग रहेको अनुभव र ऊर्जा तथा वर्तमान सरकारको नवप्रवर्तन र इच्छाशक्तिको संयोजनले मात्र देशलाई सही गति दिन सक्ने उहाँको ठम्याइ छ।
भ्रष्टाचार नियन्त्रण, संस्थागत सुदृढीकरण र प्रशासनिक सुधारका लागि सरकारले ल्याउने सकारात्मक प्रस्तावहरूमा कांग्रेसको पूर्ण समर्थन रहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो। ‘जेनजी’ आन्दोलनपछि विकसित भएको नयाँ राजनीतिक संस्कारमा पुरानो र नयाँ शक्तिबीचको यो सहकार्यलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।





