हर्क साम्पाङको गृहमन्त्रीलाई प्रश्न: ‘फेवातालको २० रोपनी जग्गाबारे पत्रकार सम्मेलन गरी सत्यतथ्य बाहिर ल्याउनुस्’

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङमाथि फेवातालको जग्गा प्रकरणलाई लिएर गम्भीर प्रश्न उठाउनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो खुल्ला पत्र लेख्दै साम्पाङले गृहमन्त्री गुरुङको नाममा पोखराको फेवाताल किनारमा २० रोपनी जग्गा रहेको भन्ने समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको र यसले आफूलाई ‘नमज्जा’ लागेको उल्लेख गर्नुभएको छ।

अध्यक्ष साम्पाङले यस विषयलाई ‘नैतिकताको सवाल’ भन्दै गृहमन्त्रीलाई तत्काल पत्रकार सम्मेलनमार्फत स्पष्टीकरण दिन आग्रह गर्नुभएको छ। “खास कुरा के हो, पत्रकार सम्मेलन राखिहाल्नुस्! जवाफ नदिए जनताले विश्वास गर्दैनन् र प्रहरीले समेत टेर्न छोड्नेछ,” साम्पाङले चेतावनी दिनुभएको छ। उहाँले आफू प्रतिपक्षी दलको नेता भएकाले गृहमन्त्रीमाथि टीकाटिप्पणी र प्रश्न गर्नु आफ्नो पदीय जिम्मेवारी भएको समेत स्पष्ट पार्नुभयो।

गृहमन्त्री गुरुङले ‘जेनजी’ (Gen-Z) आन्दोलनको चैत २३ गतेको घटनाका दोषीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याएकोमा साम्पाङले प्रशंसा र धन्यवाद समेत दिनुभएको छ। तर, चैत २४ गतेको घटनाका दोषीलाई कारबाही गर्न र फरार रहेका जीबी राईलाई पक्राउ गरी रवि लामिछानेलाई न्याय दिन सदनमा उठाएका मुद्दाहरू नबिर्सन उहाँले स्मरण गराउनुभयो। काम गर्ने मान्छेको खुट्टा तानिने भए पनि व्यक्तिगत सम्पत्तिको विवादले छवि धमिलिने भन्दै उहाँले सचेत गराउनुभएको हो।

फेवातालको सो जग्गा भाडामा लिइएको तर ५ वर्षदेखि पैसा नतिरेको भन्ने समाचारहरू सार्वजनिक भइरहेका बेला साम्पाङको यो टिप्पणी आएको हो। बालेन्द्र शाह नेतृत्वको सरकारमा गृहमन्त्री जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिमाथि लागेको यो आरोपले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। साम्पाङले एक ‘दाजु’ को नाताले दिएको सल्लाह सम्झेर सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै गृहमन्त्रीलाई हृदयदेखि नै बधाई दिने दिन चाँडै आओस् भन्ने कामना गर्नुभएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा