काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी चैत २७ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ। सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार उक्त दिन दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने गरी सम्पूर्ण तयारी सुरु गरिएको छ।
“राष्ट्रपति कार्यालयबाट शुक्रबार दिउँसो ३ बजे संयुक्त सदनलाई सम्बोधन गर्ने सम्बन्धी पत्र सचिवालयलाई प्राप्त भएको छ,” प्रवक्ता गिरीले जानकारी दिनुभयो। सरकारको सिफारिसमा राष्ट्रपतिले यो विशेष सम्बोधन गर्न लाग्नुभएको हो।
नेपालको संविधानको धारा ९५ मा राष्ट्रपतिको सम्बोधनसम्बन्धी स्पष्ट व्यवस्था छ। उक्त धारामा राष्ट्रपतिले सङ्घीय संसद्को कुनै एक सदन वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यहरूको उपस्थिति आह्वान गर्न सक्ने अधिकार प्रदान गरिएको छ।
बालेन्द्र शाह नेतृत्वको सरकार र ‘जेनजी’ आन्दोलनपछिको बदलिएको राजनीतिक परिस्थितिमा राष्ट्रपतिको यो सम्बोधनलाई निकै महत्त्वका साथ हेरिएको छ। सम्बोधनका क्रममा राष्ट्रपतिले मुलुकको वर्तमान अवस्था, सुशासन र आगामी नीतिगत प्राथमिकताका विषयमा राज्यको धारणा राख्नुहुने अपेक्षा गरिएको छ। मन्त्रिपरिषद्को पछिल्लो सिफारिस अनुसार हुन लागेको यो सम्बोधनले संसद्लाई नयाँ मार्गनिर्देश गर्ने विश्वास लिइएको छ।





