काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएसँगै शेरबहादुर देउवा पक्षले आफ्नो अडान परिवर्तन गरेको छ। शनिबार राजधानीमा बसेको देउवा पक्षीय नेताहरूको अनौपचारिक बैठकले न्यायालयको आदेशलाई शिरोधार्य गर्दै पूर्णबहादुर खड्कालाई अबदेखि ‘कार्यवाहक सभापति’ नभन्ने निर्णय गरेको हो।
यसअघि देउवा पक्षले गगन थापाको नेतृत्वलाई अस्वीकार गर्दै निर्वाचन आयोग र अदालतमा समेत खड्कालाई कार्यवाहक सभापतिको हैसियतमा प्रस्तुत गर्दै आएको थियो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता मीन विश्वकर्माले हिजोसम्म खड्का कार्यवाहक सभापति रहे पनि अदालतको फैसलाले अर्को पक्षलाई आधिकारिकता दिएपछि त्यसलाई स्वीकार गरिएको बताउनुभयो। उहाँले अब पार्टीको वैधानिक नेतृत्व गगन थापा नै भएको प्रष्ट पार्नुभयो।
देउवा पक्षको यो निर्णयसँगै कांग्रेसभित्र लामो समयदेखि जारी दुई समानान्तर शक्ति केन्द्रको विवाद कानुनी र राजनीतिक रूपमा तत्कालका लागि साम्य भएको देखिएको छ। खड्कालाई अब ‘पूर्व कार्यवाहक सभापति’ का रूपमा लिइने र देउवा पक्षले अब पार्टीको नियमित संगठनात्मक प्रक्रिया र १५ औँ महाधिवेशनको तयारीमा सहकार्य गर्ने संकेत गरेको छ। यो कदमलाई कांग्रेसभित्रको सम्भावित विभाजन रोक्न र लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्ने प्रयासका रूपमा हेरिएको छ।




