काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले सुकुमवासीको नाममा ठाउँ ओगटेर गरिब हुँ भन्दै अनैतिक र अव्यवहारिक कार्य गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्। सरकारले काठमाडौंका सुकुमवासी बस्ती हटाउन गरेको तयारीका सन्दर्भमा अनलाइनखबरसँग कुरा गर्दै उनले आश्रय लिनु र जग्गा कब्जा गर्नु फरक विषय भएको बताए।
उनले भने, ‘यदि साँच्चिकै सुकुमवासी हुन् र समस्यामा छन् भने उनीहरूलाई सहयोग र संरक्षण गर्नु सरकारको दायित्व हो। तर, ठाउँ ओगटेर बस्ने र गरिबीको नाममा अनैतिक काम गर्नेलाई भने कारबाही हुनुपर्छ।’
झाका अनुसार सरकारले वास्तविक सुकुमवासीको पहिचानका लागि सूचीकरण गर्ने र उनीहरूलाई व्यवस्थित स्थानमा स्थानान्तरण गरी संरक्षण गर्दै अघि बढ्नुपर्ने खाँचो छ। सरकारले काठमाडौं महानगरको समन्वयमा सुकुमवासी बस्ती खाली गर्न तयारी थालेको छ भने त्यसका लागि स्थानीयहरूलाई ठाउँ खाली गर्न माइकिङ समेत गरिएको छ।





