धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलभित्र चुलिएको विवाद र आगामी सत्ता समीकरणका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्णायक हस्तक्षेप गर्नुभएको छ। संसदीय दलको नेतृत्वलाई लिएर सांसदहरूबिच तीव्र मतभेद बढिरहेका बेला अध्यक्ष ओलीले सुदूरपश्चिमका सबै ११ जना प्रदेशसभा सदस्यहरूलाई भक्तपुरको गुण्डुमा बोलाएर विशेष छलफल गर्नुभएको हो।
संसदीय दलका नेता राजेन्द्र सिंह रावलको कार्यशैलीप्रति असन्तुष्ट पक्षले नेतृत्व परिवर्तनको माग गरिरहेका बेला भएको यस भेटमा अध्यक्ष ओलीले आन्तरिक कलह छोडेर पार्टीलाई बलियो बनाउन निर्देशन दिनुभएको छ। छलफलमा प्रदेश सभा र सरकारमा ११ जना सांसदको भूमिकालाई कसरी प्रभावकारी बनाउने र पार्टीभित्रको कमजोरीलाई कसरी सुधार्ने भन्ने विषयमा केन्द्रित रहेर कुराकानी भएको प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले जानकारी दिनुभयो।
अध्यक्ष ओलीले बैठकमा गत निर्वाचनको समीक्षा गर्दै नतिजा कमजोर आउनुको कारणबारे चासो राख्नुभएको थियो। उहाँले आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा एकजुट भएर अघि बढ्न र अहिलेदेखि नै गाउँस्तरमा नतिजा सुधार्ने गरी लाग्न स्पष्ट निर्देशन दिनुभएको छ। हाल सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा एमाले सहभागी रहे पनि दलको नेता फेर्ने सांसदहरूको भित्री चाहना भने अझै साम्य भइसकेको छैन।




