काठमाडौँ । नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसकै प्रभावले अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशीको हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ।
आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशका पहाडी भूभाग र तराईका थोरै स्थानमा समेत हल्का वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
आज राति पनि कोशी प्रदेशका थोरै स्थान र मधेशसहित अन्य प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ। वर्षा र चट्याङ्गले दैनिक जनजीवनमा प्रभाव पार्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।




