काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११:०० बजे बस्दैछ। आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि भइरहेको छलफलले निरन्तरता पाउनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको उक्त नीति तथा कार्यक्रममाथि बुधबारको बैठकमा प्रतिपक्षी सांसदहरूको अवरोधका कारण नियमित कार्यसूचीमा छलफल हुन सकेको थिएन। प्रधानमन्त्री बालेन शाह बैठकमा उपस्थित नभएको भन्दै प्रतिपक्षले सदन अवरुद्ध पारेका थिए।
आजको सम्भावित कार्यसूची अनुसार नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाहले दिनुहुनेछ। प्रधानमन्त्रीको जवाफपछि आजै नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरी पारित गर्ने संसद सचिवालयको तयारी छ। यही अधिवेशनमा सरकारले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेटसमेत प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
यसैगरी, राष्ट्रिय सभाको बैठक पनि आजै बिहान ११:१५ बजे बस्दैछ। राष्ट्रिय सभामा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ। दुवै सदनमा नीति तथा कार्यक्रम पारित भएपछि सरकारलाई बजेट निर्माण र प्रस्तुतिको बाटो खुल्नेछ। संसद्को यो सत्रलाई बजेट केन्द्रित अधिवेशनका रूपमा लिइएको छ।





