प्रधानमन्त्री बालेन शाह शक्तिशाली र लोकप्रिय छु भन्दैमा जे मन लाग्यो त्यही गर्न पाइँदैन: कांग्रेस सभापति गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफू शक्तिशाली र लोकप्रिय छु भन्दैमा राज्य संयन्त्रमा जे मन लाग्यो त्यही गर्न नपाउने बताएका छन्। नेपाली कांग्रेसको नीति प्रशिक्षण तथा प्रतिष्ठानको कोशी प्रदेशस्तरीय कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै सभापति थापाले सङ्ख्यामा जति नै शक्तिशाली र लोकप्रिय भए पनि जुनसुकै शासक संविधान, कानुन, ऐन र नियमको परिधिभित्र बाँधिनुपर्ने स्पष्ट पारे।

प्रधानमन्त्री शाहको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै सभापति थापाले भने, “म शक्तिशाली छु, लोकप्रिय छु भन्दैमा जे पनि गर्न पाइन्न। प्रधानमन्त्री संविधान, कानुन र नियमले बाँधिएको हुन्छ। त्यो नियममा उहाँ रहनुपर्छ।” उनले वर्तमान सरकार संविधान र कानुनभन्दा बाहिर हिँडेमा कांग्रेस ज्युँदो प्रतिपक्षका रूपमा मैदानमा उत्रिने चेतावनी समेत दिए। सरकार कानुनभन्दा विपरीत तरिकाले ‘मसँग बहुमत छ’ भनेर स्वेच्छाचारी ढङ्गले हिँडे कांग्रेस टुलुटुलु हेरेर नबस्ने उनको भनाइ थियो।

सम्बोधनका क्रममा सभापति थापाले सरकारले लोकतान्त्रिक विधिको उपहास गर्दै झोक चलेकै भरमा सुकुमबासी बस्तीमा डोजर चलाउन र व्यवसायीलाई प्रहरी लगाएर उठाउन नपाउने बताए। “मन लाग्यो झोक चल्यो भन्दैमा बिहान-बिहानै सुकुमबासी बस्तीमा डोजर लगाउन पाइँदैन,” उनले आक्रोश पोख्दै अगाडि थपे, “मन्त्रीलाई भेट्न मन लाग्यो भन्दैमा प्रहरी लगाएर व्यवसायीलाई उठाएर मन्त्रालयमा ल्याउन पाइँदैन।”

पछिल्ला दुई सरकारको शैलीलाई तुलना गर्दै थापाले यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले धेरै बोलेर प्रतिपक्षीलाई हेपेको र अहिलेको बालेन शाह नेतृत्वको सरकारले चाहिँ नबोलेरै संसद् र प्रतिपक्षलाई हेपिरहेको गम्भीर आरोप लगाए। “पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ,” थापाले टिप्पणी गरे। उनले सरकारलाई तत्काल आफ्ना स्वेच्छाचारी कदमहरू सच्याएर विधिको शासन र संसदीय सर्वोच्चता स्वीकार गर्न आग्रह गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा