पाेखरा। गण्डकी प्रदेशसभाको बहुप्रतीक्षित बजेट अधिवेशन (वर्षे अधिवेशन) आज सोमबारदेखि औपचारिक रूपमा सुरु हुँदै छ। अपराह्न २:०० बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस गर्नेलगायतका महत्त्वपूर्ण कार्यसूची तय गरिएको छ।
प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले दिएको जानकारीअनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइनेछ। त्यसपछि सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक छलफलको प्रस्ताव सदनसमक्ष टेबुल गरिनेछ। प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही जेठ ५ गते नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यो बजेट अधिवेशन आह्वान गरेका थिए।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले यसै वर्षे अधिवेशनमा प्रदेशको समग्र विकास, पूर्वाधार, कृषि, पर्यटन र रोजगारलाई प्राथमिकतामा राखेर आगामी आवको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित विभिन्न दलका नेताहरूले समेत सम्बोधन गर्ने र सरकारको नीतिगत प्राथमिकतामाथि प्रारम्भिक टिप्पणी गर्ने सम्भावना रहेको संसद् सचिवालयले जनाएको छ।





