काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी जेठ १८ गते छिमेकी मुलुक भारत भ्रमणमा जाने सूचना बाहिरिएसँगै पार्टीभित्र तीव्र असन्तुष्टि र हलचल मच्चिएको छ। भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा दुई दिने भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गर्ने भनिए पनि यस विषयमा पार्टीको आधिकारिक निकाय र सरकारको नेतृत्व गरिरहेका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग कुनै छलफल नभएको खुलेको छ।
रास्वपा स्रोतका अनुसार सभापति लामिछानेको यो भ्रमणबारे केन्द्रीय समितिलाई समेत औपचारिक जानकारी दिइएको छैन। “पार्टी सभापति भारत भ्रमणमा जानेबारे पार्टी र वरिष्ठ नेता रहेका प्रधानमन्त्री बालेनसँग पनि छलफल भएको देखिँदैन। पार्टीको नियमावलीअनुसार पदाधिकारीहरू वैदेशिक भ्रमणमा जाँदा केन्द्रीय समितिले निर्णय गर्नुपर्छ,” स्रोतले भन्यो। लामिछानेसँगै सह–महामन्त्री विपिन कुमार आचार्य र प्रवास विभाग प्रमुख दीपकराज बोहरा नयाँदिल्ली जाने र त्यहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिस्री र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग उच्चस्तरीय भेटघाट गर्ने तालिका तय भएको चर्चा छ।
नेपाल र भारतबीच हाल लिपुलेक व्यापार सम्झौता र सीमा विवादका कारण कूटनीतिक सम्बन्धमा केही चिसोपन आएको र भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण समेत स्थगित भएको पृष्ठभूमिमा सत्तारुढ दलका सभापतिको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले भने लामिछाने आफ्नो व्यक्तिगत वा दलीय हिसाबले जान लागेकाले यसलाई प्रधानमन्त्रीको भ्रमण वा सरकारको औपचारिक पक्षसँग जोडेर हेर्न नमिल्ने स्पष्ट पारेका छन्। यता, कूटनीतिक क्षेत्रका जानकारहरूले भने कालापानी, सुस्ता, पञ्चेश्वर र लुम्बिनी विमानस्थल जस्ता गम्भीर राष्ट्रिय मुद्दाहरूमा भारतसँग विवाद कायम रहेको बेला सरकारको नेतृत्वकर्ता दलका सभापति बिनातयारी र स्पष्ट एजेन्डाविना भ्रमणमा निस्किँदा देश र पार्टी दुवैलाई अप्ठ्यारो पर्न सक्ने भन्दै सचेत गराएका छन्। पार्टीभित्रै विरोध र विवाद बढेपछि लामिछानेको यो भ्रमण हुने वा नहुने भन्ने विषय अझै अनिश्चित बनेको छ।





