काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठकमा आजदेखि आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि औपचारिक रूपमा छलफल सुरु हुँदैछ. संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूची अनुसार सोमबार दिउँसो १:०० बजे बस्ने सोह्रौँ बैठकमा बजेटमाथि सामान्य छलफल प्रारम्भ गरिने भएको हो.
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ. अर्थमन्त्रीले उक्त प्रस्ताव प्रस्तुत गरेलगत्तै सदनमा वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु हुने सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन्.
गत शुक्रबार अर्थमन्त्री डा. वाग्लेले संसद्मा प्रस्तुत गरेको २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट र यसका नीतिगत प्राथमिकतामाथि सांसदहरूले आ-आफ्नो धारणा राख्नेछन्। करका दरहरूमा गरिएको हेरफेर र बजेटका लक्ष्यहरूलाई लिएर राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी भइरहेका बेला आजदेखि सुरु हुने संसद्को यो बहसलाई निकै चासोका साथ हेरिएको छ।




