काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सरकार र सभामुखको भूमिकाप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। बिहीबार पत्रकारहरूसँग कुरा गर्दै प्रमुख सचेतक महरले प्रधानमन्त्री संसद्मा हिन्दी चलचित्र ‘सिंघम’ र ‘नायक’ को शैलीमा प्रस्तुत हुने गरेको आरोप लगाए। संसद्लाई पूर्वजानकारी नदिई उपेक्षापूर्ण ढंगले आउने गरेको भन्दै उनले प्रधानमन्त्रीको संसदीय आचरण अमर्यादित र संविधानविपरीत रहेको दाबी गरे।
महरले सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बनेको र प्रतिपक्षको विरोधका बाबजुद मर्यादापालक लगाएर जबरजस्ती सदन सञ्चालन गरिएको आरोपसमेत लगाए। यसका साथै प्रधानमन्त्रीले संसद्मा ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनी दिएको अभिव्यक्ति राष्ट्रघाती भएको जिकिर गर्दै महरले उक्त अभिव्यक्ति फिर्ता लिएर राष्ट्रसमक्ष माफी माग्नुपर्ने र सो कुरा संसदीय अभिलेखबाट हटाइनुपर्ने माग गरेका छन्। आफूहरू वर्तमान व्यवस्थाको उपभोक्ता मात्र नभई निर्मातासमेत भएकाले संसद्मा लाचार नबन्ने र एजेन्डाका आधारमा सशक्त विरोध जारी राख्ने उनले स्पष्ट पारे।




