काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज मङ्गलवार बस्दै छ। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकका लागि सम्भावित कार्यसूचीहरू तय गरिएका छन्।
आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट (वार्षिक अनुमानित बजेट) माथि सामान्य छलफल सुरु गर्ने मुख्य कार्यसूची रहेको छ। बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्न र जिज्ञासाहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने तालिका तय गरिएको छ। यसका साथै, बैठकमा अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने तथा चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेसम्बन्धी सम्भावित कार्यसूचीसमेत रहेको संसद् सचिवालयले जनाएको छ।
यद्यपि, प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सीमासम्बन्धी दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले लगातार संसद् बैठक अवरुद्ध पार्दै आएका छन्। प्रतिपक्षी दलहरूको लगातारको विरोधका कारण आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्ने-नगर्नेमा भने अझै अन्योल र अनिश्चितता कायमै छ।





