काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सरकारले विभिन्न स्थानमा बस्ती खाली गराउने क्रममा गरेका त्रुटिहरूलाई तत्काल सच्याउनुपर्नेमा जोड दिएका छन्। काठमाडौँ महानगरपालिका वडा नम्बर ८ द्वारा शनिबार राजधानीमा आयोजित एक विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
नेता थापाले केही स्थानहरूमा स्थानीय बासिन्दासँग यसअघि गरिएका लिखित तथा मौखिक प्रतिबद्धताहरू पूरा नै नगरी हठात रूपमा बस्ती खाली गराउने काम भइरहेको भन्दै आपत्ति जनाए। सरकार र स्थानीय प्रशासनबाट भएका यस्ता कमीकमजोरीलाई स्वीकार गरेर बेलैमा सच्याउनु बुद्धिमानी हुने उनको भनाइ थियो। “लोकतन्त्रमा सरकारले आफूले एकपटक गरेको निर्णय कहिल्यै तलमाथि गर्दिनँ भनेर अड्डी कस्नु हुँदैन,” थापाले भने, “नागरिकहरूले सरकारको निर्णयमाथि जायज प्रश्न उठाएका छन् भने ती निर्णय परिमार्जन वा फिर्ता गर्ने कुरालाई सरकारले आफ्नो ठुलो इगो (घमण्ड) को विषय बनाउनु हुँदैन।”
विशेष गरी पशुपति क्षेत्र आसपासका पुराना बस्तीहरू हटाउने विषयमा सरकारले पुनर्विचार गर्नुपर्नेमा उनले विशेष जोड दिए। स्थानीय कला, संस्कृति, सम्पदा र परम्पराको संवेदनशीलतालाई गहिरोसँग नबुझीकन हठात निर्णय लिइँदा त्यसको प्रत्यक्ष प्रभाव व्यक्तिविशेषलाई मात्र नभएर वर्षौँदेखि चल्दै आएका जात्रा, पर्व र मौलिक संस्कृतिमा समेत पर्ने थापाले चेतावनी दिए। पशुपति नजिकका रैथाने पुराना बस्तीहरू विस्थापित गर्दा संस्कृतिसँग जोडिएका थुप्रै ऐतिहासिक धरोहर र परम्पराहरू सधैँका लागि मेटिएर जान सक्नेतर्फ उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए। उक्त कार्यक्रममा वडामा बसोबास गर्दै आएका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो।





