विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रजातन्त्र स्थापना र निरङ्कुशताको अन्त्यका लागि लडेको कांग्रेसभित्रै अहिले निरङ्कुशताको सुरुवात भएको आरोप लगाएका छन्। विराटनगरमा कांग्रेसको संस्थापन इतर पक्षद्वारा आयोजित विशेष एकता भेलालाई सम्बोधन गर्दै उनले यस्तो गम्भीर टिप्पणी गरेका हुन्।
नेता कोइरालाले देशैभरि वडाका सभापतिहरूलाई पार्टीको आन्तरिक विवरण वा क्रियाशील सदस्यता अद्यावधिक गर्न नमानेको बहानामा मौखिक रूपमा हटाउने कार्य भइरहेको भन्दै आपत्ति जनाए। “यो सरासर निरङ्कुशताको सुरुवात हो, कांग्रेसको जन्म यस्तो प्रवृत्तिका लागि भएको होइन,” उनले आक्रोश पोखे। पार्टीभित्र अहिलेकै परिस्थिति कायम रहे आगामी दिनमा अगाडि बढ्न नसक्ने उनको भनाइ थियो।
कांग्रेस कमजोर हुँदा देशको लोकतन्त्र, सार्वभौमिकता र अखण्डतासमेत कमजोर हुने उल्लेख गर्दै डा. कोइरालाले पार्टीभित्र सहमति, सहकार्य र एकताको विकल्प नभएको स्पष्ट पारे। उनले सामाजिक सञ्जालमा आउने प्रतिक्रियाहरूको पछि नलाग्न कार्यकर्ताहरूलाई आग्रह गरे। आन्तरिक विवाद समाधानका लागि महामन्त्री गगन थापासँगको सल्लाहमा ५ बुँदे प्रस्ताव पठाइएको महिना दिन बितिसक्दा पनि संस्थापन पक्षबाट समाधानको कुनै ठोस पहल नभएकोमा उनले असन्तुष्टि व्यक्त गरे।





