काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सार्वजनिक तथा निजी सवारी साधनमा जडान गरिएका कालो सिसा (टिन्टेड ग्लास) हटाउने अभियानलाई तीव्रता दिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्। सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा उनले यस्तो निर्देशन दिएका हुन्।
सो अवसरमा गृहमन्त्री गुरुङले उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेलगायतका अधिकृतहरूलाई आफ्नै गाडीमा जडान भएको कालो सिसा पनि हटाउन निर्देशन दिएका छन्। उनले भने, ‘मेरो गाडीमा जडान भएको कालो सिसा पनि हटाउनुस्।’ मन्त्रीको निर्देशनलगत्तै ट्राफिक प्रहरीले उनले प्रयोग गर्दै आएको गाडीको कालो सिसा पनि हटाउने भएको छ।
ट्राफिक प्रहरीले असार १४ गतेदेखि नै उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएका कालो सिसाका स्टिकर हटाउन सुरु गरिसकेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेश सुवेदीका अनुसार, कतिपय गाडीमा कम्पनीबाटै कालो सिसा जडान भएर आएको पाइएकाले त्यस्ता गाडीका सन्दर्भमा सिसा परिवर्तन गर्ने विषयमा बिक्रेता कम्पनीहरूसँग समेत छलफल भइरहेको छ।





