मकवानपुर । बागमती प्रदेश सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूले मंगलबार पदबाट राजीनामा दिने भएका छन्। पार्टी केन्द्रको निर्देशनबमोजिम एमालेका ६ जना मन्त्रीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष आजै राजीनामा बुझाउने अन्तिम तयारी गरेका हुन्। यससँगै एमालेले वर्तमान प्रदेश सरकारलाई दिएको समर्थनसमेत औपचारिक रूपमा फिर्ता लिने भएको छ।
यसअघि सोमबार काठमाडौँमा सम्पन्न एमाले बागमती प्रदेश संसदीय दलको बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरे तापनि मंगलबार केन्द्रबाट स्पष्ट निर्देशन आएपछि मन्त्रीहरू राजीनामा दिन तयार भएका हुन्। एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र मन्त्री किरण थापा मगरका अनुसार मुख्यमन्त्री बानियाँसँगको समन्वयमा जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रमा राजीनामा बुझाउने कार्यक्रम तय भएको छ। मुख्यमन्त्री बानियाँले पनि मन्त्रीहरूको राजीनामा बुझ्न आफू जावलाखेलतर्फ गइरहेको जानकारी दिएका छन्।
बागमती प्रदेशमा गत साउन १ गतेदेखि मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर ८ मा सीमित गरिएसँगै मन्त्रिपरिषद्को कार्यविभाजनमा फेरबदल भएको थियो। हाल सरकारमा एमालेका तर्फबाट डा. दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार विकास, मधुसूदन पौडेलले कृषि, पशुपन्छी, वन तथा वातावरण र बिन्दु श्रेष्ठले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्। त्यस्तै, मन्त्रीहरू किरण थापा मगर, जयराम थापा र भरत केसी बिनाविभागीय मन्त्रीका रूपमा रहेका थिए।
आगामी सरकार गठनको खाका र नयाँ गठबन्धनबारे पार्टी केन्द्रले निर्णय गरिसकेको र त्यसको औपचारिक जानकारी आउन बाँकी रहेको एमाले संसदीय दलले जनाएको छ। नयाँ सत्ता समीकरणअनुसार अघि बढ्न केन्द्रको निर्देशन पर्खिरहेको नेताहरूले बताएका छन्।




