काठमाडौँ । वाम गठबन्धन भत्किएको झन्डै दुई वर्षपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच पुनः राजनीतिक सहकार्यको प्रयास सुरु भएको छ। प्रदेश तहमा नेपाली कांग्रेस र एमालेको सत्ता गठबन्धन सङ्कटमा पर्न थालेसँगै दुई शीर्ष नेताबिचको संवाद बाक्लिएको हो।
मंगलबार दिउँसो ओली र प्रचण्डबिच झन्डै दुई घण्टा लामो भेटवार्ता भएको थियो। उक्त भेटमा संयोजक प्रचण्डले संविधान र गणतन्त्र पक्षधर शक्तिहरूलाई समेटेर प्रदेशहरूमा सर्वदलीय सरकार गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए। भेटमा सहभागी नेताहरूका अनुसार, प्रचण्डको यस प्रस्तावमा अध्यक्ष ओली सकारात्मक देखिए पनि तत्काल कुनै ठोस सहमति भने जुटिसकेको छैन। श्रीलंका भ्रमणबाट स्वदेश फर्किएलगत्तै प्रचण्डले वाम शक्तिहरूबिचको संवादलाई तीव्रता दिएका हुन्।
पछिल्लो समय जनस्तरबाट उठेका असन्तुष्टि र निर्वाचनमा वामपन्थी शक्तिहरूको खस्किँदो जनमतलाई मध्यनजर गर्दै दुवै दलका नेताहरूले संवादहीनता तोड्न पहल गर्दै आएका थिए। एमालेका तर्फबाट नेताहरू लेखराज भट्ट, रामबहादुर थापा र शंकर पोखरेल तथा नेकपाका तर्फबाट वर्षमान पुन लगायतले गठबन्धनको वातावरण बनाउन सक्रियता देखाएका छन्। एमाले सचिव महेश बस्नेतले पनि यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नभई मुलुकको राजनीतिक स्थायित्व र समृद्धिको दिशामा अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन्।
यद्यपि, विगतमा यी दुई नेताबिच पटक-पटक भएका सहमति र नाटकीय सत्ता फेरबदलका कारण यो नयाँ प्रयासले कस्तो परिणाम ल्याउनेछ भन्नेमा राजनीतिक वृत्तमा संशय कायमै छ। दुवै पार्टीभित्र नेतृत्व पुस्तान्तरण र रुपान्तरणको चर्को आवाज उठिरहेका बेला शीर्ष नेताहरूबिचको यो पछिल्लो भेटलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।




