काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न पाँच वटा संसदीय समितिका बैठकहरू आज (सोमबार) बस्दै छन्। संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो।
कार्यसूचीअनुसार बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा नेपाल पर्वतारोहण सङ्घलगायत सरोकारवाला निकायहरूसँग छलफल हुनेछ। त्यस्तै बिहान ९:३० बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, वन तथा वातावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले तयार पारेको प्रतिवेदनमाथि समीक्षा हुनेछ। यसैगरी बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा लगानी बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल उद्योग परिसङ्घका प्रतिनिधिहरूसँग पूर्वाधार विकास र सार्वजनिक–निजी साझेदारीका विषयमा छलफल गरिनेछ।
यसैबिच दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ, जसमा कृषिमन्त्री तथा कानुन सचिवलगायतलाई आमन्त्रण गरिएको छ। त्यस्तै दिउँसो २ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा विज्ञ धनप्रसाद लामिछानेसँग खर्क नीतिसम्बन्धी विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।




