काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ महाधिवेशनलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यका साथ ‘निर्वाचन निर्देशिका, २०८३’ जारी गरेको छ । नयाँ निर्देशिकाले वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्मका सबै तहको निर्वाचन प्रक्रिया, उम्मेदवारको योग्यता, आचारसंहिता तथा मतपत्रको ढाँचालाई स्पष्ट र चुस्त बनाएको छ । निर्वाचन प्रक्रियालाई स्वच्छ र अनुशासित बनाउन प्रचार-प्रसारका क्रममा विभिन्न कडा मापदण्डहरू समेत निर्धारण गरिएका छन् ।
निर्देशिका अनुसार उम्मेदवारहरूले आफ्नो नाम वा चुनाव चिह्न अङ्कित टोपी, भेस्ट, ज्याकेट वा मास्कलगायतका प्रचार सामग्री प्रयोग गर्न पाउने छैनन् । साथै, सार्वजनिक स्थलमा होहल्ला गर्न, प्रचारमा सवारी साधनको दुरुपयोग गर्न र बालबालिकालाई निर्वाचनसम्बन्धी गतिविधिमा सहभागी गराउन पूर्ण रूपमा निषेध गरिएको छ । यसपटकको निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री बनाउँदै उम्मेदवारी दर्ता शुल्क डिजिटल भुक्तानी (क्यूआर कोड) मार्फत तिर्न सकिने व्यवस्था गरिएको छ भने निर्वाचन परिणाम वेबसाइटमा प्रविष्ट गर्ने र डिजिटल मतदाता नामावलीको प्रबन्ध मिलाइएको छ ।
निर्देशिकामा नेपालको संविधान र पार्टी विधानबमोजिम दलित, आदिवासी जनजाति, खस-आर्य, मधेसी, थारु, मुस्लिम तथा पिछडिएको क्षेत्रको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न विशेष कोटा निर्धारण गरिएको छ । वडादेखि केन्द्रसम्मका विभिन्न पदका लागि न्यूनतम योग्यता र उम्मेदवारी शुल्क तोकिएको छ, जसअन्तर्गत केन्द्रीय सभापति पदका लागि ४० हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको छ । केन्द्रीय निर्वाचन समितिले सबै तहका निर्वाचन अधिकृतहरूलाई निर्देशिकाको पूर्ण पालना गराउन निर्देशन दिएको छ ।





